नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

व्यावसायिक कीट विकास केन्द्र

हरिहरभवन, ललितपुर

रेशम विकास केन्द्र

प्रकाशित मिति : 2023-08-07 02:24:14

ऐतिहासिक पृष्ठभूमिः

    सन् १९७१ मा १० वर्षे कृषि आयोजना लागू भएको समयमा व्यावसायिक महत्वका कीराहरुको विकास गर्ने उद्देश्यले सन् १९७५/०७६ मा खोपासीमा व्यावसायिक कीट विज्ञान आयोजनाको नामले मौरी सहित रेशमखेती केन्द्रको स्थापना भयो । वि.सं. २०४२ सालमा स्वर्गीय राजा वीरेन्द्रबाट मध्यमाञ्‍चल क्षेत्रीय विकास भ्रमणको क्रममा खोपासी केन्द्रको निरीक्षणपछि मौरीपालनलाई खोपासीबाट ललितपुरको गोदावरीमा सारियो र २०४३ सालदेखि खोपासीले रेशमखेती कार्यक्रम मात्र सम्हाल्दै आएको छ । आ.व. २०५२/०५३ देखि कृषि विभागको सांगठनिक ढाँचामा भएको परिवर्तन पश्‍चात् यसको नाम रेशमखेती विकास शाखा खोपासी कायम भई कार्यक्रम सञ्‍चालन हुँदै आएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको स्वीकृत संरचना अनुसार २०७४/०४/०१ देखी रेशमखेती विकास शाखा संघीय संरचना बमोजिम पुनः संरचना भए अनुसार परिमार्जित गरी रेशम विकास केन्द्र कायम भएको छ। यो कार्यालय काठमाडौं देखि ३५ कि.मि. पूर्व काभ्रेपलाञ्‍चोक जिल्ला स्थित पनौती न.पा. वडा नं. १० खोपासीमा रहेको छ ।

    रेशमखेती गर्ने कृषकहरूलाई प्राविधिक सेवा टेवा संघ र प्रदेशमा स्थापना गरिएका रेशमखेती फार्म केन्द्रहरुबाट नै पुर्‍याइएको छ । रेशमखेती संचालन गरिएका जिल्लाहरुमा सयौंका संख्यामा कृषकहरु रेशमखेती समूहमा आबद्ध रहेका, र मुख्य गरी निम्न, मध्यम तथा गरिब वर्ग र महिला आवद्घ भई रेशम कीरापालन गरी कोया उत्पादन विक्रीबाट अतिरिक्त आय आर्जन गरेका छन् । नेपालमा विद्यमान विविध हावापानी सुहाउँदो रेशमखेती प्रविधि विकास गर्न, रेशम कृषकहरुलाई सल्लाह सुझाव दिन, रेखदेख गर्न, कृषकहरुको माग अनुसार किम्बु विरुवा उत्पादन गर्न र आपूर्ति गर्न, साना रेशम कीरापालन र वितरण गर्न, कृषकहरुलाई रेशमखेती सम्बन्धी तालिम प्रदान गर्न र कृषकहरुबाट उत्पादित कोयाको बजार व्यवस्था गर्न खोपासीको अलावा  विभिन्न प्रदेश अन्तर्गत  देशभर ८ वटा रेशम फार्महरु छन् । यी फार्महरु मध्ये पनि रेशम कीराको मातृश्रोत संरक्षण, बीज उत्पादन, संरक्षण र वितरण जस्ता कार्यहरु गर्नुपर्ने भएकोले यस केन्द्रको बेग्लै औचित्य तथा महत्व रहेको छ ।

 

मुख्य उद्देश्य

  • परम्परागत कृषि तथा पशुपालन प्रणालीमा रेशमखेती आवद्ध गरी व्यावसायिकरण गर्ने ।
  • परम्परागत कृषि प्रणालीमा व्यावसायिक रेशमखेतीको माध्यमद्धारा किसान समुदायको आयआर्जन वृद्धि गरी जिवीकोपार्जनमा सुधार ल्याउने ।
  • नेपालमा स्थापित रेशम कपडा जन्य उद्योगको लागि रेशम धागोको आयत प्रतिस्थापन गरी स्वदेशी रेशम जन्य उद्योग प्रर्वद्धनमा टेवा पुर्‍याउने ।

 

रणनीति

  • रेशमखेती विस्तरका लागि मकै बालीको डिलमा सघन किम्बु, व्यावसायिक पशुपालन क्षेत्र, माछापालन पोखरीको डिलमा र अदुवा तथा बेसार एवं कफी बालीको लागि छाहारी र कबुलियती वनमा भुँई घाँस अन्तर बाली उपयुक्त हुने प्रणालीमा किम्बु खेती विस्तार गर्ने ।  
  • बहु पुस्ते र दुई पुस्तेको वर्णशंकर (क्रस भोल्टाईन) फुल उत्पादन गरी कीरापालनबाट दोश्रो वसन्तकालीन र पहिलो शरदकालीन कोया उत्पादनमा बृद्धि गर्ने ।
  • ३०÷३५ घर घुरीमा ५० हजार भन्दा बढि उत्पादनशिल किम्बु विरुवा भएको गाँउ क्षेत्रलाई मोडल पकेट क्षेत्र मानी रेशमखेती सघन कार्यक्रम संचालन गर्ने उक्त मोडल पकेट क्षेत्र एक सिजनमा ५० बक्स कीरापालन गराई कम्तिमा १ टन कोया उत्पादन गराउने । 
  • रेशमखेतीलाई व्यावसायिकिकरण गर्न हरेक पकेट क्षेत्रमा नमुना किम्वु बगैंचा स्थापना र कम लागतको मोडल कीरापालन घर बनाई कार्यक्रम संचालन गर्ने ।
  • रेशमजन्य कपडा उद्यमी तथा कारोवारमा संलग्न निजी क्षेत्रलाई कोया तथा धागो खरिद गराउन प्रोत्साहनका कार्यक्रम बढाई निरन्तरता दिने ।

 

कार्यनीति (अल्पकालिन दिर्घकालिन)

  • रेशम पकेट क्षेत्र विस्तार गर्न विद्यमान पकेट क्षेत्र र वरिपरिका क्षेत्रमा किम्बुखेती विस्तारमा प्राथमिकता दिने।
  • पुराना सि.आर.सि भवन सुदृढिकरण गरी आवश्यक सुविधा उपलब्ध गराई स्वस्थ चौकी किरा कृषकहरुलाई वितरण गर्ने ।
  • साना कीरापालन (चौकी कीरा) सामुदायिक स्तरमा स्थानीयस्तरको अनुभवी सहजकर्ता र कार्यालयको प्राविधिकको रेखदेखमा गराई कृषकस्तरमा वितरण गर्ने ।
  • दुई बक्स वा सो भन्दा बढि कीरापालन गर्ने क्षमता भएका कृषकहरुलाई कीरापालन टहरो निर्माण अनुदान उपलब्ध गराउने ।
  • आफु बस्ने एवं पुरानो घर तथा गोठको तलामा दुई बक्स भन्दा कम कीरापालन गरेका कृषकहरुको कीरापालन घर सुधार गर्न दोहोरो हावा संचार सुविधा गराउन अतिरिक्त झ्याल राखी जाली राख्‍ने व्यवस्था मिलाउने । 
  • किम्बु वगैंचा काँटछाँट, गोडमेल तथा मलखाद र कीरापालन घर तथा सामाग्री बिसंक्रमण अभियानको रुपमा संचालन गर्ने ।
  • कीरापालनको लागि प्राकृतिक रुपमा नै उपयुक्त तापक्रम हुने महिनामा दुईपुस्ते जात र दोश्रो वसन्तमा क्रस भोल्टाईन जातको कीरापालन गराई कोया उत्पादनमा सफलता सुनिश्‍चित गर्ने ।
  • रेशमखेती विस्तारमा स्थायित्व प्रदान गर्न हरेक पकेट क्षेत्रमा नमुना किम्बु बगैंचा स्थापना र कम लागतको मोडल कीरापालन घर बनाई कार्यक्रम संचालन गर्ने ।
  • गुणस्तर कोया उत्पादनका लागि ठुला कीरापालन अवधिमा हाँगा सहितको पात खुवाउने ओछ्यान र क्षेत्रफल व्यवस्थापन एंव मसिना कमजोर र रोग शंकास्पद कीरा छनोट एंव हटाउने कार्य र राम्रो र नराम्रो कोया छनोट कार्य अभियानका साथ संचालन गर्न हरेक पकेट क्षेत्रमा पाँच दिने गुणस्तरीय कोया उत्पादन स्थलगत व्यवहारिक तालिम संचालन गर्ने ।
  • रेशम विकास केन्द्रमा संचालन गरिने रेशमखेतीका सम्पूर्ण क्रियाकलाप र उपलब्धी समेटिने गरी डकुमेन्ट्री बनाई संचारका माध्यम रेडियो, टेलिभिजन र पत्रपत्रिकाको माध्यमद्वारा कार्यक्रम प्रसारण गर्ने ।

 

कार्य विवरण

  • विभिन्‍न रेशम कीरा प्रजातीहरुको मातृश्रोतको संरक्षण सम्वर्द्धन एवं विकास गर्ने ।
  • सिफारिश रेशम कीराको जातको अण्डा उत्पादन गरी विभिन्‍न सरकारी फार्म केन्द्र, कृषक समूह तथा सहकारीहरुलाई आपूर्ति व्यवस्था मिलाउने ।
  • रेशम कीरापालन विकास र विस्तारको लागि राष्ट्रिय व्यावसायिक नीति तथा योजना तर्जुमामा व्यावसायिक कीट विकास केन्द्रलाई पृष्ठपोषण गर्ने।
  • नविनतम प्रविधिको उपयोग गरी रेशम कीरापालन, विकास र विस्तारको लागि उत्पादक कृषक एवं उद्यमीलाई तालिम प्रदान गर्ने ।
  • रेशम सम्वन्ध विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  • रेशम कीरापालन प्रविधिको विकास र विस्तारका सम्वन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने ।
  • फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
  • सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (Action oriented) अध्ययन, परीक्षण संचालन गर्ने,
  • रेशम प्रशोधन गरी धागो, कपडा तथा रेशमजन्य उद्योग प्रवर्द्धनमा निजी क्षेत्रको क्षमता विकास गर्ने,
  • रेशम कीरापालनसँग सम्वन्धित उन्‍नत प्रविधिको प्रदर्शन संचालन गर्ने,
  • रेशम कीरापालन, विकास र विस्तारका लागि राष्ट्रिय श्रोतकेन्द्रको रुपमा कार्य गर्ने।
  • रेशम सम्वन्धी विभिन्‍न नविनतम प्रविधिहरुको Package of practice तयार गरि ICT मार्फत प्रचार प्रसार तथा वितरण गर्ने ।
  • किम्वु तथा रेशमको श्रोत केन्द्र पहिचान, तथ्याङ्क संकलन र अध्यावधिक कार्यमा सहजिकरण गर्ने ।
  • संघ, प्रदेश र स्थानीय तहमा रहि रेशम सम्वन्धी काममा संलग्न प्राविधिक जनशक्ति विकास गर्ने ।
  • किम्वु तथा रेशम कीराका जातहरुको विरुवा तथा अण्डाका माग तथा आपुर्ति सम्वन्धित वार्षिक वासलत तथा माग आपूर्तिको प्रक्षेपण गर्ने।
  • रेशम कीरापालनमा संलग्न व्यवसायी समूह तथा सहकारीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गर्न सहजिकरण गर्ने ।